कविता सुनाउँदै भोट माग्दै
Sankhuwasabha news | 08 November 2013 | Views : 1703
शैक्षिक योगीका रुपमा चर्चिच भुपालप्रसाद नेपाल आफूले सृजना गरेका कविता सुनाउँदै भोट माग्न मतदाताको घर घरमा पुगिरहनुभएको छ । पहिलो संविधानसभाले संविधान नबनाएपछि नयाँ संविधान नआउन्जेल दाह्री र कपाल नकाट्ने घोषणा गर्नुभएका संखुवासभा क्षेत्र नं. २ का शान्ति पार्टीका उम्मेदवार नेपालले लय मिलाएर कविता सुनाउँदै भोट फकाइरहनु भएको छ । माम्लिङ गाविस–७ मा जन्मनुभएका नेपालले क्षेत्र नं. २ का १४ वटा गाविसमा पैदलबाटै घुमिसक्नु भएको छ ।
सेतै फुलेका लामा लामा दाह्री र कपालमा जोगी जस्तै देखिनुहुने उम्मेदवार नेपालको झोलामा चुनाव प्रचाको साटो कथा र कविताका संग्रह भेटिन्छन् । ठूला दलका उम्मेदवारहरु गाडी र घोडामा चढेर जनताका घरदैलोमा पुगिरहेका बेला उम्मेदवार नेपाल भने एउटा लठ्ठी टेक्दै छाता र झोला बोकेर जनतासम्म पुगिरहनुभएको छ । शान्ति दलका उम्मेदवार नेपाल वैदिक समावेशी हिन्दू राज्यसहितको वहुजातीय संघीय राज्यको नारा लिएर जनताको घरदैलोमा जानुभएको हो ।
केही सातापछि केन्द्रीय अध्यक्ष वेदराज आचार्यलाई ल्याएर संखुवासभाका विभिन्न ठाँउमा कार्यक्रम गर्ने तयारी भइरहेको उम्मेदवार नेपालले बताउनुभयो । दसैं तिहार पनि जनताको घरदैलोमा मनाउनुभएका उम्मेदवार नेपालले आफूले सुनाएको कविता खेर नजाने बताउँदै जनताबाट राम्रो पाउने दावी गर्नुभयो । संखुवासभा क्षेत्र नं. २ मा नेपालसहित १२ जना उम्मेदवार घरदैलोमा व्यस्त छन ।
Facebook users can post their comment in the below box.